‘तामाङला न्होर तामाङदान’ अर्थात् ‘तामाङको अर्थ तामाङकै लागि’ भन्ने मूल नारासहित स्थापित घेदुङ बहुउद्देश्यीय सहकारीले सदस्यहरुको बचत रकम हिनामिना गरेका छन् ।

केही दिनअघि विभिन्न मिडियामा प्रकाशित समाचारअनुसार नियमित बचत र मुद्दती खातामा जम्मा गरेका सदस्यहरूको १४ करोडभन्दा बढी बचत रकम हिनामिना गरेपछि सहकारीका सदस्यहरू तनावमा परेका हुन् ।

सहकारीमा नियमीय बचत गर्दै आएका मनोज तामाङका अनुसार उनलाई बचत फिर्ता गर्न पटक पटक भाखा राखेर बोलाइयो । ‘सहकारीमा मेरो १ लाख ३७ हजार ४ सय रुपैयाँ बचत रहेको छ,’ उनले भने, ‘असार १९ गते पनि बलाइयो । म बचत रकम झिक्ना भनेर आउँदा अफिस नै बन्दा थियो । अब के गर्ने कसो गर्ने अन्यौलमा छु ।’

त्यस्तै बचतकर्ता सदस्य मैया तामाङका अनुसार– ‘मलाई फकाइफुल्याइ बचत गर्न लगाए, आज यसरी सहकारी भागेपछि तनावमा छु ।’

‘मैले आफ्नो आम्दानीको सम्पूर्ण रकम यहाँ बचत गरेकी छु,’ सहकारी स्थापना भएदेखि नै नियमित बचत गरिरहेका अञ्जली योन्जन भन्छिन, ‘अहिले यो समस्या आएपछि म के गरौँ भन्ने नै सोच्न सकिरहेको छैन ।’

असार १९ गतेदेखि सहकारीमा तालालागेसँगै सदस्य बचतकर्ताहरूको बचत फिर्ता हुनेमा अनिश्चितता देखिएको छ । बचतकर्ताहरू दिनदिनै चुच्चेपाटीस्थित सहकारीको कार्यालयमा लागेको ताला हेरेर फर्कने क्रम जारी छ ।

यतिबेला सञ्चालकहरू सम्पर्क विहीन छन् । प्रमुख सञ्चालकहरूको नम्बर स्वीचअफ आइरहेको छ । घेदुङ सहकारी बन्द भएसँगै अहिले नेपाल तामाङ घेदुङको संङ्घीय कार्यालय पनि बन्द रहेको छ र नियमित सिफारीसलगायत तामाङ घेदुङ संघीय कार्यालयबाट तामाङ समुदायले पाउनुपर्ने सेवाहरू ठप्प रहेको छ ।

सहकारीमा जम्मा गरेका आफ्ना वचत रकम समयमै फिर्ता नहुँदा सदस्यहरु आक्रोशित छन् । सहकारीका केही सदस्य एवं बचतकर्ताहरु कानूनी उपचारको प्रकियामा समेत अगाडि बढेका छन् ।

बचतकर्ताहरुले काठमाडौं महानगरपालिकाको सहकारी विभागमा बचत रकम असुल गराई सञ्चालकलाई कारबाहीको माग गर्दै निवेदनसमेत दिइसकेका छन् । करिब ५० जनाभन्दा बढी सदस्यहरुको हस्ताक्षरित निवेदन दिएको सहकारीका सदस्य एवं बचतकर्तामध्येका एक प्रदिप योन्जनले जानकारी दिए । काठमाडौं महानगरपालिका वडा नं. ७ ले पीडितहरुको उजुरीपछि सहकारीका कर्मचारी तथा संचालक समिति सम्पर्कविहीन रहेको जनाएका छन् ।

२०७९ फागुन महिनामा घेदुङ सहकारीसँगै अन्य सात वटा सहकारी एकिकरण भएको थियो । एकिकृत सहकारीको नाम आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड राखियो । साविक घेदुङ सहकारी एवं नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोलेले आइडियल यमुनाले घेदुङको १४ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको जायजेथा डुबाएको अभिव्यक्ति दिइरहेका छन् ।

उनले असार २४ गते सहकारीका सदस्य एवं बचतकर्ताहरूलाई अपिल गर्दै भनेका छन, ‘हामीलाई सहकारी सम्बन्धी कुनै अनुभव र ज्ञान छैन । त्यसैले यससम्बन्धी हामीलाई बचतकर्तासँग के भन्ने ? कसरी बोल्ने भन्ने कुरा पनि आउँदैन । हाम्रो संगठनले विश्वास गरी घेदुङको सङ्घीय उपाध्यक्ष कुयाङछुयाङ दोर्जे लामालाई सम्पूर्ण जिम्मेवारी दिएका थियौँ । उहाँले नै कर्मचारीदेखि सबै कुरा हेर्दै आउनुभएको थियो र जे गरियो, सबै उहाँकै सल्लाह, सहमतिमा गरियो ।’

अध्यक्षा गोले अगाडि लेख्छन, ‘संस्था एकीकरण प्रक्रिया सुरु भएयता करिब दुई वर्षदेखि हामीले कुनै निर्णय र आर्थिक योजना समेत बनाउन नपाएपछि अझ यो बिचमा संस्थालाई धराशायी बनाउने काम भयो । अहिले समस्या आएपछि हामीमाथि यो केस ठोक्किन आइपुग्यो । हामी समाजकै जिम्मेवार अभियन्ता भएकाले यसबाट भाग्न मिल्दैन । …. हामी यहाँहरूको वचत रकम फिर्ता गर्न प्रतिवद्ध छौँ । त्यसको लागि हामीलाई एकपटक अधिकतम ६ महिनाको समय दिनुहोस् । यहाँहरू सबैको अवधि पुगेको र चल्ती बचतको रकम २०८१ पुष मसान्तभित्रमा फिर्ता गर्ने प्रयास गर्नेछौँ ।’

घेदुङ सहकारीले केही वर्षदेखि वित्तीय समस्या झेलिरहेको थियो । सहकारीले लगानी गरेका कतिपय योजनाहरु असफल भएपछि यो समस्या थप गहिरिएको हो ।

तपाईको प्रतिक्रिया