आज मिति २०८० फागुन १९ गते महिनाको तेस्रो शनिवार, हामी र हाम्रो कृति समूहको तेह्रौँ र चौधौँ कृति समूहका आजीवन सदस्य नवराज पोखरेलज्यूको मुक्तकसङ्ग्रह ‘नवशिला’ र समूहका महासचिव बद्री उप्रेतीज्यूको मुक्तकसङ्ग्रह ‘चिराइतो’ लीलाध्वज थापा साहित्य प्रतिष्ठानको सभाहल बालुवाटार, काठमाडौँबाट विमोचन कार्य सुसम्पन गरियो ।
दीपोज्वलन साथै राष्ट्रिय गान सहित सुरु गरीएको उक्त कार्यक्रमको सञ्चालन बहु प्रतिभाशाली भुवन सिवाकोटी चौघरेज्यूले सुन्दर तरिकाले गर्नुभएको थियो भने स्वागत् मन्तव्य हामी र हाम्रो कृति समूहकी उपाध्यक्ष गंगा आचार्य सेढाईँज्यूले दिनुभएको थियो । हामी र हाम्रो कृति समूहकी आजीवन सदस्य शारदा गौतम आचार्यज्यूले अध्यक्षता गर्नुभएको उक्त कार्यक्रमा प्रमुख अतिथिको आसनमा नेपाल मुक्तक प्रतिष्ठानका उपाध्यक्ष वरिष्ठ सहित्यकार तथा पत्रकार वियोगी बुढाथोकीज्यू रहनु भएको थियो । त्यसैगरी विशिष्ट अतिथिको आसनमा वरिष्ठ कवि एवं मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल, काठमाडौँका अध्यक्ष कलानिधि दाहालज्यू र वरिष्ठ साहित्यकार एवं लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाज्यू रहनु भएको थियो भने लोकार्पित कृति चिराइतो मुक्तकसङ्ग्रहका समीक्षक प्रखर राजनीतिक विश्लेषक तथा वरिष्ठ समालोचक प्रा. डा. गोविन्द मानसिंह कार्कीज्यू र नवशिला मुक्तकसङ्ग्रहकी समीक्षक साहित्यकार नारी स्रष्टा समाज नेपालकी अध्यक्ष ममता मृदुलज्यू रहनु भएको थियो । त्यसैगरी अतिथिको आसनमा रहनुभएका चिराइतो मुक्तकसङ्ग्रह लेखककी गुरु निलाञ्जला भारद्वाजज्यू, नवशिला मुक्तकसङ्ग्रहकी प्रकाशक शिला पोखरेलज्यू, चिराइतो मुक्तकसङ्ग्रहकी प्रकाशक नम्रता उप्रेतीज्यू साथै कृतिकारद्वय बद्री उप्रेती, नवराज पोखरेलज्यू र हामी र हाम्रो कृति समूहका अध्यक्ष मदन प्रसाद नेपालज्यू लगायतले कृतिको लोकार्पण गर्नुभएको थियो ।
विमोचित कृति ‘चिराइतो’ मुक्तकसङ्ग्रहको समीक्षा प्रा. डा. गोविन्द मानसिंह कार्कीज्यूले र ‘नवशिला’ मुक्तकसङ्ग्रहको समीक्षा ममता मृदुलज्यूले बडो उत्कृष्ट तरिकाले गर्नुभएको थियो । उक्त कार्यक्रममा समूहको तर्फबाट हामी र हाम्रो कृति समूहका अध्यक्ष मदन प्रसाद नेपालज्यूले लोकार्पित कृतिका कृतिकारद्वय बद्री उप्रेती र नवराज पेखरेलज्यूलाई बधाई तथा कृति सफलताको शुभकामना मनतव्य दिनु अगाडि विमोचित कृतिका कृतिकारज्यूहरूले एक आपसमा आ-आफ्नो लोकार्पित कृतिको ब्याज साटासाटको दृश्यले कार्यक्रमलाई थप रोचक र सान्दर्भिक बनाएको थियो । बधाईका साथ शुभकामना सहित सुरू गरिएको मदन प्रसाद नेपालज्यूको मन्तव्यमा हामी र हाम्रो कृति समूहको उदेश्य र भावी कार्यक्रमहरू समेटिएका थिए । विभिन्न संघ संस्थाका प्रतिनिधि, बुद्धिजीवी, प्रत्रकार , समाजका गन्यमान्य व्यक्तित्व साथै साहित्यानुरागी मनहरूको करिव १०५ जनाको उपस्थिति रहेको उक्त विमोचिन सभामा शुभकामना मन्तव्य दिनुहुनेहरूमा वियोगी बुढाथोकीज्यू, कलानिधि दाहालज्यू, विजयध्वज थापाज्यू, निलञ्जला भारद्वाजज्यू, सुनिल अधिकारीज्यू , नम्रता उप्रेतीज्यू, शिला पोखरेलज्यू हुनुहुन्थ्यो भने कार्यक्रममा उपस्थित हुनुभएका साहित्यकारज्यूहरू मध्यबाट २० जना स्रष्टाहरूले लोकार्पित दुबै कृतिबाट मुक्तकहरू वाचन गर्नुभएको थियो ।
अन्त्यमा कार्यक्रमका सभाध्यक्ष शारदा गौतम आचार्यज्यूले कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न गराउन उपस्थित हुनुभएका सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दै सभा विसर्जन भएको जानकारी गराउनु भएको थियो ।

तपाईको प्रतिक्रिया