काठमाडौं। तिहार सुरु हुदै गर्दा बजारमा तिहारका गीतहरु गुञ्जिन थालेका छन्। तिहारको केही आफ्नै विशिष्टता छ । जस्तो कि, सेलरोटी, सयपत्री अनि संगीत । ढकमक्क फूलेका सयपत्री र सेलरोटीको सुगन्धले जसरी तिहारलाई खास बनाएको छ, उसैगरी देउसी-भैलो भाकाले पनि । जब देउसी-भैलो गुञ्जन थाल्छ, तिहारको उल्लास छाउँछ । यसरी संगीतसँग अभिन्न रुपमा जोडिएकैले हुनुपर्छ, तिहारलाई लक्षित गरेर कलाकारहरुले थुप्रै गीतहरु सार्वजनिक गर्ने गरेका छन्। तिहारलाई लक्षित गरेर युवा गायक आशिष रायमाझी, गायिका पवित्रा गुरुङ र गायिका नितु पुनले ‘झिलीमिली’ बोलको तिहार गीत म्युजिक भिडियो सहित सार्वजनिक गरेका छन्। यस गीतमा स्वयम गायक रायमाझीको शब्द, संगीत र संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा गायक रायमाझी, पवित्रा गुरुङ, नितु पुन , प्रजिना गुरुङ र टिमको अभिनय रहेको छ। सनम तामाङले छायाँकन गरेको यस गीतको भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका हुन्। विजय मगरको निर्देशनमा भिडियो तयार पारिएको हो। गायक रायमाझी ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ सहभागी भएका थिए। यसअघि उनले ‘सपनीमा’, ‘मोहनी’, लगायत गीत तथा म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेका छन्। ‘झिलीमिली’ बोलको म्युजिक भिडियो गायक रायमाझीको युट्युव च्यानल ‘आशिष रायमाझी’ मार्फत सार्वजनिक गरिएको हो।
आशिष, पवित्रा र नितुले ल्याए तिहार गीत ‘झिलीमिली’
