भद्र २७ ।

पोखराको फिस्टेल अस्पतालमा शुक्रबार बिहान मृत्यु भएकी एक महिलाको कोरोना रिपोर्ट पोजिटिभ आएको छ । पोखरा–५ मालेपाटनकी ४५ वर्षीया महिलाको शुक्रबार बिहानै आफन्तले दाहसंस्कार गरिसकेका छन् । ती महिलाको कोरोना रिपोर्ट नआउँदै अस्पतालले शव आफन्तलाई बुझाएको खुलेको छ ।

बिहीबार गैह्रापाटनको फिस्टेल अस्पतालमा भर्ना भएकी थिइन् । बिहीबार नै स्वाब संकलन गरी केन्द्रको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो ।  शुक्रबार बिहान १:१५ बजे निजको भेन्टिलेटरमा राखेको अवस्थामा मृत्यु भएको थियो । अस्पतालले अन्य कारणले मृत्यु भएको भन्दै बिहान परिवारलाई शव हस्तान्तरण गर्‍यो ।

पोखराको रामघाटमा मृतकको परिवारले अन्त्येष्टि गरे र सो अन्त्येष्टिमा ठूलो संख्यामा मलामीको उपस्थिति थियो । मृतकका श्रीमान अनुसार “हामीले सोध्दा मृत्युको कारण कोरोना होइन, फरक हो, लैजानु भनेपछि रिपोर्ट नआउँदै अन्त्येष्टि गरेका हौं ।”

प्रदेश स्वास्थ्य निर्देशनालयअन्तर्गत प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्मा अनुसार “रिपोर्ट नआउँदै शव हस्तान्तरण गर्नु अस्पतालको गम्भीर लापर्बाही भएको” र ‘अस्पताल प्रशासनले गरेको गल्तीले गर्दा शुक्रबार मलामी गएका व्यक्तिमा संक्रमणको जोखिम देखियो भने त्यसको जिम्मेवारी फिस्टेल अस्पतालले लिने कि नलिने ?

नवराज शर्माले भने, ‘यो गल्तीमा प्रदेश सरकारले गर्ने सजाय स्वीकार गर्ने कि नगर्ने ?’ नमुना संकलन गरेपछि रिपोर्ट नआइञ्जेल कुर्नुपर्छ भन्ने जान्दाजान्दै अस्पताले प्रदेश सरकारलाई अटेर गर्दै शव हस्तान्तरण गरेको उनले बताए ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या २४ पुगेको छ ।

 

श्रोत: हाम्रो बिराटनगर

तपाईको प्रतिक्रिया